फाल्गुन १५, २०७३-आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ ।
सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । ढुंगा हानाहानका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले ५/६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम चलेको थियो । अहिले स्थिति सामान्य बनेको छ । एमालेको कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रहरीले कडा सुरक्षाका बीच अहिले चन्द्रनिगाहपुर पुर्याइएको छ ।
कार्यक्रमस्थल वरपर बिहानैदेखि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै त्यस क्षेत्रमा प्रहरीले बिहानैदेखि आवाजजावत रोक्दा आफूहरु समस्यामा परेको रौतहट रघुनाथपुरका किसान योगेन्द्र साहले बताए । 'बाटोमा छिर्नै दिएनन्,' उनले भने, 'घुमाउरो बाटो भएर कार्यालयमा जान खोज्दा यता पनि पुलिसले रोक्यो ।' धेरै अनुरोध गरेपछि जान दिएको उनले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिहान ८ बजेदेखि नै ब्यारेक चौरलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ ।
सरकारले संविधान संशोधन विधेयक पारित नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै मधेसी मोर्चाले त्यसविरुद्ध विभिन्न किसिमका आन्दोलन घोषणा गरेको छ।
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon