एक महिला धर्मसंकटमा : दाजुलाई बचाउने कि गर्भको शिशु !

बेइजिङ । जीवनमा मानिसलाई नियतीले कहिलेकाहीँ धेरै ठूलो परीक्षा लिन्छ । यस्तै गम्भीर परीक्षाको घडी पार गरेकी एक चिनियाँ महिलाको यतिबेला व्यापक चर्चा भइरहेको छ ।

समाचार एजेन्सीहरुका अनुसार हाङ्गझाउ निवासी २४ वर्षीय याङ्ग ली ठूलो धर्मसंकटमा परिन् । उनका सामू आफ्नो सहोदर दाजुलाई बचाउने वा आफ्नो गर्भमा रहेको शिशुलाई बचाउने भन्ने प्रश्न गम्भीर रुपमा खडा भयो ।
याङ्ग लीका २९ वर्षीय दाजु याङ्ग जुन गम्भीर अस्वस्थ्य थिए । अस्पतालमा उपचाररत उनलाई चिकित्सकले तत्काल बोन म्यारो प्रत्यारोपणका लागि सुझाव दिएका थिए । अन्यथा बाँच्ने सम्भावना नरहेको चिकित्सकको भनाइ थियो । साथै उनकै बहिनीसँग उनको हेमाटोपोइटिक स्टेम सेल मेलखाने पनि प्रष्ट भयो ।
दुर्भाग्य, त्यतिबेला बहिनी याङ्ग ली तीन महिनाको गर्भवती थिइन् । चिकित्सकका अनुसार यस्तो बेलामा बोन म्यारो ट्रान्सप्लान्ट गर्दा गर्भमा रहेको बच्चामा गम्भीर असर पर्न सक्थ्यो । यस्तो परिस्थिति थाहा पाएपछि याङ्ग जुनले आफ्नो जीवन अब केही दिनको पाहुनामात्र हो भन्ने महसुस गरे । उनी आफ्नी ७ वर्षकी छोरी र पत्नीको भविष्यप्रति चिन्तित हुन थाले ।
याङ्ग लीले पनि सबै कुरा थाहा पाइन् । घर परिवारसँग सल्लाह गरेर उनी दाजुसँग भेट गर्न अस्पतालमै पुगिन् । लगत्तै उनले आफ्नो निर्णय सार्वजनिक गरिन्, ‘म आफ्नो गर्भपात गराएर भए पनि दाजुलाई बचाउँछु ।’
याङ्ग लीले एउटा अन्तरवार्तामा भनेकी छन्, ‘हेनान प्रान्तको एउटा गाउँमा गरिबीको अवस्थामा हाम्रो परिवार थियो । म अन्टीको घरमा बस्थेँ, मेरो दाजु हेङ्गझुमा काम गर्नुहुन्थ्यो ।’
दाजु समयसमयमा बिदा लिएर घर आउँदा आफ्नो लागि कुनै न कुनै गिफ्ट ल्याइदिने गरेको पनि उनले स्मरण गरिन् । उनले भनिन्, ‘स्कूलको पढाइ सकेर म पनि हेङ्गझु मै कामका लागि गएँ । मैले एउछा ब्युटीपार्लरमा काम पाएँ । मेरो सुरक्षाका लागि दाजु यति चिन्तित हुनुहुन्थ्यो कि, सँधै मलाई पार्लरसम्म पुर्‍याउन र लिनका लागि उहाँ जानुहुन्थ्यो ।’
कहिलेकाहीँ आफूले केही खान मन नगरेको अवस्थामा दाजुले नै खाना खानका लागि बाहिर लैजाने गरेको पनि उनले स्मरण गरिन् । उनले भनिन्, ‘आमाबुवाबाट टाढा रहँदा पनि मैले कहिल्यै उहाँहरुको कमी महसुस गर्नु परेन । किनकि मलाई दाजुले पूर्ण ख्याल गर्नुहुन्थ्यो ।’
दाजुलाई बोनम्यारो दान गर्नकै लागि अक्टोबर ३ मा याङ्ग लीले गर्भपात गराइसकेकी छन् । तर बोनम्यारो प्रत्यारोपणको मिति भने तय हुन बाँकी छ । चाँडै नै बोनम्यारो प्रत्यारोपण थालिने अस्पताल स्रोतलाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यमले जनाएका छन् ।
चिनियाँ सोसल नेटवर्किङ साइटमा यतिबेला यी दुई दाजुबहिनीको व्यापक चर्चा भइरहेको छ । सबैजसोले याङ्ग जुनको स्वास्थ्यलाभको कामना गरेका छन् ।


EmoticonEmoticon