यसरी बन्छन् : दलित युवतीहरु कुमारी आमा


1
प्रेम सुनार
गुल्मी,३ कार्तिक। गुल्मीमा थुप्रै दलित युवतीहरु गैर दलित संगको प्रेम सम्वन्धका कारण वषौं देखि न्याय नपाएर कुमारी आमा रहन बाध्य भएका छन् । बडागाउँ ३ की फुलमाया विकका सन्तान १४/ १५ वर्षका भई सके तर वावुको ठेगान छैन् ।
स्थानिय थापा क्षेत्रीको गर्भधारणबाट जन्मेका सन्तानलाई सुरुमा जिम्मा लिए पनि केहि दिन पछि फरार भएका थापा अहिले सम्म कहाँ छन् भन्ने अत्तोपत्तो छैन् । उनको परिवार नै सुटुक्क सवै घर सम्पत्ती बेचेर तराई तिर गएर लुकेपछि उनी त्यसै अलपत्र बनेकी हुन् ।
न्यायका लागि फुलमाया वर्षौं देखि प्रहरी प्रशासन धाउने गर्छिन् । तर उनलाई न्याय दिलाउन कसैले सकेका छैनन् । आरोपित थापा र उनको परिवार सुनुवलमा बसेको बताइए पनि त्यहाँबाट प्रहरीले झिकाई दिन नसक्दा उनले न्याय पाउन नसकेकी हुन् । फुलमायालाई रातदिन एउटै चिन्ता छ , छोरीले बाबु खोज्दा के जावफ दिने भनेर । र फुलमाया थप्छिन् , मेरो बेइज्यत त यसै भयो । हाम्रो जिम्मा लिएको लोग्ने भन्ने आएन् फकेर । ‘मैले धेरै पटक प्रहरीकोमा गएर उजुरी दिए , तर मेरो सुनुवाई भएन् ।’ उनले भनिन् ,‘ बच्चाले बाबु खोज्न थाल्छ , मैले कसलाई देखाउने । ’
यस्तै पीडा छ , ह्वाङ्गदीकी सुमित्रा नेपालीको पनि । स्थानिय मगर थरका युवाले रातमा मुख थुनेर जवरजस्ती करणी गरेको उनले बताएपछि गाउँलेले उनलाई समातेर घर भित्रयाउने प्रयास गरे । तर अर्को समुहले मगरलाई भगाएपछि चार वर्ष देखि बेपत्ता छन् , मगर ।
छिमेकी दर्लिङ्ग गाविस, नेटा गाविस , क्षेत्र नम्वर ३ का दर्जनौ गाविस र यता क्षेत्र नम्वर १ र २ का पनि दलित युवती र पाका महिलाहरु समेत गैर दलित पुरुषको सहवासबाट अलपत्र परेका छन् । ती मध्ये कतिपयलाई अदालतबाट न्याय दिलाउन सकिए पनि कार्यान्वयन गराउन निकै कठिन भएको दलित अधिकारकर्मी गणेश विश्वकर्माले बताए ।
यसरी न्याय पाउनेमा वस्तुकी चन्द्रका नेपाली र फोक्सीङ्गकी दिपा विकले पनि जिल्ला अदालतबाट मुद्दा जितेका छन् । मगर थरका युवाको प्रेम जालमा फसेर अलपत्र परेकी दिपाले मुद्दा जिते पनि त्यसको कार्यान्वयन नहुँदा न्याय पाउन अझै सकेकी छैनन् ।
केहि दिन अघि मात्र क्षेत्र नम्वर १ मा ४५ नाघेकी पाकी दलित महिला र स्थानिय मगर थरका वृद्धा रंगे हात समातिएका थिए । तर उनलाई मगर समुदायले भगाए पछि ती महिला अलपत्र परेको अधिकारकर्मी विश्वकर्माले बताए ।
जिल्ला न्यायधिश मातृका प्रसाद मरासीनीको कार्यकालमा केहि दलित महिलाहरुले न्याय पाए पनि त्यस अघि धेरैले न्याय पाउन नसकेको बताइन्छ । जिल्ला न्यायधिश मरासीनीले यस्ता मुद्धालाई विशेष प्राथमिकतामा राख्दै आएको बताए ।
दलित अधिकारकर्मी नेपाल दलित संघका अध्यक्ष झविन्द्र विक, उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष दलबहादुर विक, केन्द्रिय सदस्य कृष्ण सुनार , नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष धर्म विश्वकर्मा लगायतले यस्ता विषयमा दलित महिला स्वयम पनि सचेत हुनु पर्ने बताउँदै आफुहरु एक जुट भएर न्याय दिलाउने पक्षमा लागेको दावी गरेका छन् ।


EmoticonEmoticon