|  
ममतामयी आमानमस्कार !
 लामो
 समयको अन्तराल पछि पत्र कोर्दैछु । आरामै छु र आरामको कामना गर्दछु । 
तपाईंसँग भेटघाट नभएको पनि झण्डै ४ वर्ष बितेछ । फोनमा त बेला बेलामा 
समाचार आदानप्रदान हुन्थ्यो नै तर उही त हो महँगो शुल्क अनि टाढा भएकाले 
मात्र हालखबर र सञ्चो विसञ्चोमा सीमित हुन्थ्यो । मनका कुरा खुलेर 
गरुँभन्दा पनि गर्नै नपाईने । घरमा कम्प्युटर भए पनि इन्टरनेट चलाउने समयमा
 बत्ती नै नहुने ।
 
आमा !
 गत साता बहिनी विजयाले स्काइपमा कुरा गरेकी थिइन् । बुबा र तपाईंको 
बैवाहिक वार्षिकोत्सवका फोटो पठाएकी थिईन् । अनि साँच्चै बुवाको स्वास्थ्य 
कस्तो छ ? ब्लडप्रेसरको नियमित औषधि सेवन गर्दै हुनुहुन्छ होला हैन ? सधैं 
शारीरिक व्यामाम गर्नुपर्छ । अनि तपाईंको थाइराइडको समस्याको स्थिति कस्तो छ
 ? बेलाबखतमा रगत परीक्षण गरी नियमित औषधि सेवन गर्नुहुनेछ ।
 
विजयाले
 भन्दै थिईन्, तपाईँले पनि जागिरबाट अवकाश पाउने बेला भयो रे । स्वास्थ्य 
तथा जनसंख्यासम्बन्धी कार्यक्रम, परिवार नियोजनसम्बन्धी काम गर्ने सँस्थामा
 भाग लिने गर्नुहुन्छ रे हैन ? बुवाको क्षेत्र पनि स्वास्थ्य भएको हुँदा 
तपाईँले स्वास्थ्यसम्बन्धी धेरै अनुभव सँगाल्नु भएको छ भन्ने लाग्छ । यो 
पत्रमा धेरै पहिलेदेखि मेरो दिमागमा खेलेको कुरा खोल्न खोज्दैछु । सायद यो 
पत्र पढ्दा तपाईं एकपल्ट झस्कनु हुन्छ होला छोरीले आमालाई कसरी यस्तो 
विषयसँग सम्बन्धित पत्र लेख्न सकेको होला भनेर ।
 तर, आमा ! तपाईँ मेरी 
जन्मदाता मात्र हैन, मेरा लागि सबैभन्दा कुरा मिल्ने सँगिनी बन्नुभयो । 
मैले तपाईँमा मातृत्व सँगै आत्मीय साथीत्व पनि पाउँछु । हुन त म कसैसँग 
नखोलेका प्रेम प्रसङ्गका कुरा पनि तपाईंलाई नै खोल्ने गर्थें । पत्रमा 
वर्णित विषयसम्बन्धी म आफै नै केही गर्न चाहन्थे, संघसंस्थालाई झकझकाउँथे, 
जनचेतना जगाउन प्रयास गर्थें । तर अहिले म पढाईको क्रममा टाढा रहेकी र 
तपाईं पनि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित हुनुभएको र म पनि चिकित्सक भएको 
कारण आज निसंकोच यो विषय निकाल्दैछु । किनभने यो विषय व्यक्तिगत जीवनसँग 
सम्बन्धित भए प्रत्यक्ष सरोकार राख्दछ ।
 
त्यसैले
 मेरी आमा साथी यस विषयलाई तपाईंले अन्यथा नलिई मेरो भावना बुझ्दै यससँग 
सम्बन्धित विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुहुनेछ र टिनएजरका 
विद्यार्थीलाई पनि सचेत गराउनुहुनेछ भन्ने पनि आशा गरेकी छु । आमा, आज मैले
 मत्र कोर्ने प्रसंग अरुबेलाको भन्दा नितान्त फरक छ । सायद पत्र पढ्दा 
तपाईँका थुप्रै साथीभाईले मुखामुख गर्नुहोला, कसैले जिब्रो काट्नु होला त 
कसैले नाक खुम्च्याउनुहोला, तर तपाईँले मलाई बुझ्नुहुनेछ भन्ने कुरामा 
विश्वास छ । विषय के रहेछ भनी तपाईँलाई कौतुहल उत्पन्न हुनसक्छ । 
गहन विषयका रुपमा मैले पुरुषहरुको अस्थायी जन्मान्तर साधन ढाललाई लिएकी छु ।
 यस विषयमा मैले बाल्यकालदेखि सुनेका, भोगेका र देखेका प्रसंगलाई जोड्दै छु
 ।
 ०००
 
आमा,
 मैले यो विषयलाई पत्रमार्फत् यसरी कोर्दिन थिएँ होला । सायद आज ६ वर्षका 
बालबालिकाले अमेरिकाका जस्तो व्यस्त सडकमा पनि हिड्दाहिड्दै उ बेलुन भन्दै 
बाटोमा फ्यात्त फ्याँकिएको ढाल नटिपेको भए । नसुनेका घटना सुन्दा म झसङ्ग 
भएँ । मेरा आँखाअगाडि अबोध बाल्यकालको घटना नाँच्न थाले ।
 
 दाईको दुई थप्पड
 सायद
 म आठ वर्षकी हुँदी हुँ, दुई कक्षामा पढ्दै थिएँ । उही न हो बुवाको शुद्ध 
जागिर, हामी चार–चार सन्तान, कमजोर आर्थिक अवस्था । अहिलेका बालबालिकाका 
जस्ता महँगा गुडीया, गाडी, बल, बन्दुक, भिडियो गेम, आईप्याडजस्ता खेलौना 
कहाँ नै हुन्थे र ? खेलौनाका रुपमा कपडाले बनाएका पुतली अनि बाटोघाटोमा 
फ्याँकेका खैनीका बट्टा, तीनतिर प्वाल पार्दै धागो हालेर लट्ठी राखी तराजु 
बनाइन्थ्यो । विभिन्न आकारका ढुङ्गाका ढक अनि चौरमा उम्रेका झारपातका फलफुल
 र सागपात बनाई पसल थापिन्थ्यो । साहुजी र ग्राहक बनी किनबेचको अभिनय 
गरिन्थ्यो ।
 
एकदिनको
 कुरा हो, सायद तपाईँ घरमा हुनुहुन्नथ्यो । बैनी र म चौरमा साहुनी बनी 
खेल्दै थियौँ । चौरमा उम्रिएका थरिथरिका झारपात बटुल्दाबटुल्दै एक्कासी 
बेलुनजस्तो तर केही ठूलो आकारको चिज फेला प¥यो । देख्नासाथ दुवै फुरुङ्ग 
भयौँ, टिप्नासाथ खुशीले गद्गद् भयौँ ।
 बेलुनमा लागेको फोहोर टक्टक्याउदै
 हामी बेलुन फुक्न के लागेका थियौँ, उताबाट कड्किएको दाईको सुनियो, ‘के 
गर्छन् यी काम नलाग्ने केटाकेटीहरु ! जे पायो त्यही खेलेको छ ।’ उहाँ त 
रिसले चुर हुनुभयो । कसले टिपेको यस्तो फोहोरी चीज भन्दै मेरो गालामा दुई 
थप्पड हान्नुभयो । म ट्वाल्ल परें, अक्क न बक्क भएँ । टिपेको वस्तु फ्यात्त
 फ्याँकेर घर फर्किएँ
 
।म 
रोईरहेकी थिएँ, अनि तपाईँले के भयो भनी सोध्नुभयो, टाउको दुखेको पो हो कि 
भन्दै सिटामोल खान दिनुभयो । तर पनि म केही बोलिन । के बोल्ने ? के–का लागि
 गाली रन्किए ? अड्कल गर्नै सक्दिनथेँ । तर सधै मेरो मनमा लागि नै रह्यो 
दाईले किन काम नलाग्ने केटाकेटी भन्नुभएको भनी । यो घटनापछि मैले फागु 
पूर्णिमामा पनि बेलुन किन्ने आँट गर्न सकिन् । अरु सबै बेलुन किन्थे, 
फुक्थे र पानी भर्थे तर म रङ्ग मात्र खेल्दथें, अरुले बेलुन खेलौ भन्दा मन 
छैन भनी टारी दिन्थे ।
 
 चारवर्ष पछि थाहा पाएँ कण्डम हो भनेर
 मैले
 झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो मैले टिपेको 
वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै टिप्नै नहुने, 
बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने फोहोरी वस्तु पो टिपेकी 
रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा ! दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त 
त्यसवेला मलाई । थाहा पाएपछि त मैले गालाको दुःखाई बिर्सिएँ । त्यस समयमा 
पनि साथीहरुबाट यतिमात्र थाहा भयो – कन्डम भनेको नराम्रो चिज हो भन्ने कुरा
 । त्यो त अरुको अगाडि नाम उच्चारण गर्न नमिल्ने वस्तु रहेछ । मलाई 
अत्तोपत्तो थिएन यो के र कुन कामको लागि प्रयोग हुन्छ भन्ने बारेमा ।
 
 
मुसुक्क हाँसेर शिक्षक भन्थे– आफैँ पढ हैथाहा
 होस् पनि कसरी आमा ! विद्यालयमा स्वास्थ्य विषयबारे प्रजनन् स्वास्थ्य, 
परिवार नियोजनजस्ता पाठको पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन 
तिमीहरु आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त, 
सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन गरेर कसरी बुझ्न 
सक्थ्यौँ र त्यसबेला ? कहिलेकाँही यो विषयमा के रहेछ भन्ने मनमा नउब्जिएको 
पनि हैन ।
 
 कक्षामा सबैका अगाडि पढ्दा पनि साथीभाईहरुले जिस्काउलान्
 भन्ने डर थियो । फेरि सर, मिसले पनि गलत अर्थ लगाउनु होला भन्ने उस्तै पिर
 , अनि घरमा पढ्दा पनि दाजुभाई, दिदीबहिनीले देख्लान् भन्ने त्राही–त्राही ।
 मौका हेरेर यसो पाना पल्टायो, अनि कसैले खोकेको सुन्यो कि हत्त न पत्त 
अर्कै पाना पल्टाउने गरिन्थ्यो ।
 
 दिइएको पाठ नपढी पनि सुखै थिएन । 
जहिले पनि जाँचमा अनिवार्य एक प्रश्न प्रजननसम्बन्धी सोधिन्थ्यो । कम्ता 
मुस्किल परेको हैन परीक्षामा लेख्न पनि । त्यो विषय पढी सकाउन आमा, दाई, 
दिदी, बहिनी कोही नभएको मौका छोप्नुपथ्र्यो । एसएलसीसम्म पनि म मा प्रजनन 
स्वास्थ्य, परिवार नियोजन भनेको लाजैमर्दो कुरा हो भन्ने गलत धारणा बसेको 
थियो ।
 
 
ट्वाइलेटभरि कण्डम, साथीका बुढाबुढी लाजले भुतुक्कआमा
 ! फेरि म तपाईंलाई प्रजनन र कन्डमबारे अर्को कहानी सुनाउँछु । मैले 
आईएस्सी पढ्दै गर्दा झण्डै छ महिनाअगाडि विवाह गरेकी हितैषी साथीले फोन 
गरिन् । म उनको विवाहमा परीक्षाका कारण उपस्थित हुन सकेकी थिइनँ । उनले 
मलाई आफ्नो नयाँ घर देखाउन र आफ्ना घरका सदस्यसँग परिचय गराउन बोलाईन् । म 
पनि शनिवारको दिन पारेर उनको घर पुगेँ ।
 
तर 
संयोगबश त्यो दिन उनको ट्वाइलेट जाम भएको रहेछ । घरका सबै सदस्य जाम खोल्न 
व्यस्त थिए । कोही ट्वाईलेट खोल्ने मान्छे खोज्न गए त कोही पानीको व्यवस्था
 गर्दै थिए । घरमा ठूलै हल्लाखल्ला मच्चिएको थियो । कामदार भेला भए र 
वरिपरि नियाले । ती कामदारहरुले ट्वाईलेट खोलेरै छाडे । ट्वाईलेट त रबरका 
तिनै आतङ्कित कन्डमले पो भरिएको रहेछ । उपस्थित सबैजना छक्क, अक्क न बक्क र
 दिक्क देखिन्थे ।
 
घरमा
 एकजोडी छोरा बुहारीबाहेक सबै अविवाहित, अनि डेरामा बसेका उमेरदायी 
केटाकेटी र पचास नाघिसकेका । घरबेटी बाआमाको अगाडि बिचरा ! ती मेरी साथी र 
उनका श्रीमान् लाजले भुतुक्क भए । धेरै दिनसम्म आमाबुवाको आमुन्ने 
सामुन्नेपर्नै सकेनौं भन्थे ।
 तपाईंलाई थाहै होला यो प्रसङ्गका बेला म 
चिकित्सा विषयको पढाई शुरु गर्दै थिएँ । अब भने मलाई यौन र कन्डमका बारेमा 
धेरै बुझिसकेकी थिएँ । त्यसैले मैले मेरी साथीलाई गाली गर्न थालें । आफू  र
 आफ्ना घरमा बस्नेबाट गल्ती हुन गए होस गराउने तिम्रो काम हो, किन चुप 
बस्यौ भनी सोधें ।
 उनीहरुको कुरा के परेछ भने सुनसान र एकान्त ठाउँमा 
उनीहरुको घर, फोहोर फ्याँक्ने ठाउँको उचित व्यवस्थाको अभाव, भर्खरै बैवाहिक
 जिवनमा गाँसिएका हँुदा परिवार नियोजनका स्थायी साधन प्रयोग गर्न अलि 
मिलेनछ । अब के गर्ने भनी उनीहरुले कन्डमको प्रयोग गर्न थालेछन् । अब कता 
फ्याँक्ने, घरमा अरुले देखे लाज हुने भन्ने ठानेर सबैभन्दा गोप्य ठाउँका 
रुपमा ट्वाईलेट देखेछन् ।
 
सुरु–सुरुमा
 त राम्ररी नै फ्लस भएछ । पछि त्यही त हो रबरको चिज, पानी प्रशस्त नभएको र 
सजिलै कुहिने नभएकाले ट्वाईलेट जाम हुन पुगेछ । म उनीहरुको घटना सुनी 
ट्वाल्ल परेँ । सम्झेँ, साँच्चै रेडियो, टीभी, पत्रपत्रिकामा हेर्नुहोस् त 
जताततै कन्डमको बारेमा जानकारी पाईने तर यसको उचित प्रयोग, सही विसर्जन र 
व्यवस्थापनको बारेमा कुनै जानकारी नदिईने । किन यस्तो भईरहेछ, किन गहिरिएर 
नसोचिएको हो ? साँच्चै गल्ती त हामीबाट नै भएको रहेछ, कुनै पनि विषयको 
बारेमा जानकारी दिँदा त्यसको बारेमा विस्तारमा ज्ञान दिनुपर्ने हो । 
त्यसैले आमा, तपाईंहरुले सञ्चालन गर्ने जनचेतनामुलक कार्यक्रममा यस विषयलाई
 पनि उठान गर्नुहुनेछ भन्ने आशा गरेकी छु ।
 कुनैपनि सामानको उत्पादन 
त्यसको आवश्यकताले गर्छ । आवश्यकता महसूस गरेपछि वस्तुको व्यवस्थापनबारे 
पनि सोचिनु पर्छ । सामानको उत्पादन परिचालन र व्यवस्थापन गर्न सकिएन भने 
त्यसको औचित्यको मूल्य रहन्न आमा ।
 
 
पैसा खस्यो कण्डममा, टिप्नै लाज लाग्योकन्डमले
 संसार पिरेको छ, अर्को प्रसङ्ग उठाउँछु । बैनी विजया अध्ययनको सिलसिलामा 
लन्डन पुगेकी थिईन् । त्यहाँ त मानव अधिकार, जनावर अधिकार आदि भएको 
अनुशासित, प्रदुषणरहित, सभ्य अति सुन्दर सहर लण्डनको जनजिवन अत्यन्त व्यस्त
 देखिन्छ रे । सडक, पार्क, होटल, ट्वाईलेट कतै पनि फोहोरको त कुरै छोडौं 
सानो कागजको टुक्रासम्मपनि भेटिदैन थियो रे । यौन स्वतन्त्रताको मुलुक भनिए
 पनि त्यहाँ बलात्कारका घटना सुनिदैनन् रे । संसारमा यहाँ जति सभ्य मानिस 
कहीँ नहोलान् भन्ने लाग्दैथ्यो रे । उनलाई यत्तिकैमा एउटा घटनाले छक्क 
पारेछ ।
 मेरी बहिनी दाजुसँगै घुम्न गएकी रहिछन् । डुल्दाडुल्दै थकित 
भएका उनीहरु दुवैले चिसो खाने विचार गरेछन् । यसो पैसा तिर्न लागेको त पैसा
 भुईंमा खसेछ । पैसा उठाउन खोज्दा त उनी छक्क परिछन् । पैसा त बाटोमा 
फ्यात्त फ्याँकिएको कन्डमको छेउमै झरेछ । पैसा टिपौं कि नटिपौं भनी दाई 
बहिनी दुवै दोधारमा परेछन् । दाईले के ठान्नुहोला भन्ने लागेर उनले त्यो 
झरेको पैसाको माँया मारिछन् । पुनः ब्यागबाट अर्को पैसा झिकी पैसा तिरिछन् ।
 
 
अस्पतालदेखि मन्दिर परिसरसम्म कण्डमस्नेही
 आमा ! यी घटनाले गर्दा मेरो दिमागमा कन्डमकै भूत चलेको थियो । मैले यसपछि 
हिँड्दा, डुल्दा, विद्यालय जाँदा, बाटोमा नियालेर हेर्न थालें । बाटोे, 
गल्ली, खाल्डो, हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले । 
सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका वेवारिसे रबरका खोल ।
 हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर
 मन्दिर परिसर वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको त कुरै
 छोड्नुहोस् ।
 गाउँको सन्दर्भमा भने अलि फरक पाएँ । घरका र बाटाका वरपर 
विरलै कन्डम देखिन्थे । तर घाँसपात काट्न जाँदा, कान्लाकुन्लीतिर, दाउरा 
लिन जाँदा जङ्गलतिर फ्याँकिएका कन्डम देखेर दिक्क मान्थें । सायद, 
फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा मानिसले लाज र डरले कसैले नदेख्ने गरी 
फुत्त डाँडाबाट फ्याँकिएको हुनसक्छ । कहिले कहिले त तोतेबोली नफुटेका 
बच्चाहरुले बेलुन मानेर होला कन्डम नै फुकेको पनि देखियो । तपाईं आफै 
भन्नुस् त आमा, त्यसरी फ्याँकिएका, आफैमा प्रदुषित, जथाभावी प्रयोग गरिएका,
 सडेका, दुर्गन्धित कन्डम स्वास्थ्यको दृष्टिकोणले कति हानिकारक छन् ?
 यी
 घटनापश्चात् मैले जता जुन देशमा गएपनि कन्डमको सही विसर्जन र प्रयोगप्रति 
मानिस कत्तिको सचेत छन् भनी खोजी गर्न थालेँ । यसै सन्दर्भमा म 
मित्रराष्ट्र चीनमा अध्ययनको चार वर्षे लामो अन्तरालमा पनि बाटोघाटो, 
कुनाकाप्चामा नियाल्न थालेँ । मेरा विचारमा मानिसहरु कति सभ्य छन् भन्ने 
कुरा कन्डमको प्रयोग र व्यवस्थापनले पनि जनाउँछ ।
 समयको दौरानमा मैले 
पार्क, बगैंचा, ट्वाईलेट, स्कुल, क्याम्पसको कुना काप्चामा हेर्न थालें । 
तर कतै पनि केही फोहोर देखिन । मैले सोचेँ, हैन, फोहोरसँगै कन्डमका बारेमा 
पनि चिनीयाँहरु अत्यन्तै सभ्य र अनुशासित रहेछन् । मेरो मन मस्तिष्कमा 
उनीहरु प्रति अत्यन्त सम्मान उब्जियो ।
 
 
छातामै कण्डम टाँसिएर आयोएक
 दिनको कुरा हो, म मेरो शोधपत्रको प्रस्तुति सकेर दीक्षान्त समारोहका लागि 
आवश्यक कार्यपत्र र फर्म लिएर दौडादौड गर्दै थिएँ । निश्चित समयको 
घेरावन्दीका कारण मलाई सास फेर्नेसम्म फुर्सत थिएन । बाहिर पानी परिरहेको 
थियो । सम्पूर्ण कागजपत्र बुझाउन अफिस जानुथियो । एक हातमा कागजपत्र र 
अर्को हातमा छाता समाउँदै दौडिन थालेँ । अनायास म चिप्लिएर भुँइमा लडें । 
हतारमा म दुःखाईको वास्ता नगरिकनै उठ्न खोजें । उठ्दा त मेरो छातासँगै 
प्लाष्टिकजस्तो वस्तु टाँसीएर आयो । म त्यसलाई टक्टक्याउन लागें । त्यो त 
त्यही कन्डम पो रहेछ ।
 
मेरो
 दिमागमा फेरी उही वाल्यकालदेखिका घटनाहरु नाच्न थाले । चिनियाप्रतिको मेरो
 सम्मान, छापपनि चकनाचुर भयो । मैले यो घटना मेरा सहपाठीलाई सुनाएँ । 
उनीहरु भन्दै थिए, ‘चिनीयाँहरु यस विषयमा धेरै सभ्य, साथी तिमी 
मित्रराष्ट्र भारत गयौ भने त आँखामा केही नदेखिने चश्मा किनेर लगाउनु जस्तो
 पो हुन्छ  तिमी गयौ भने बाटोमा केही पनि नदेखेको जसोगरी हिड्नु है’ । यो 
सुनेर म तीनछक परें ।
 आमा !, कन्डमबारे अन्य घटना पनि प्रस्तुत गर्न 
सकिन्छ तर अहिले म रोक्न चाहन्छु, अर्को वर्ष नेपाल फर्किएपछि मित्रराष्ट्र
 भारत घुम्न जाने योजनाा गरेकी छु । त्यसपछि त्यहाँको प्रसङ्ग फेरि जोडौंला
 ।
 
यस्ता
 प्रसङ्गबाट के बुझिन्छ भने सबैले यौनलाई मानिसमा उत्पन्न हुने प्राकृतिक 
आवश्यकताका रुपमा लिने गरेका छन् । स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने
 पनि यो एउटा जैविक आवश्यकता हो भने अर्कोतर्फ सृष्टिलाई निरन्तरता दिने 
माध्यम पनि । हामी भोक लागेपछि खाना खान्छौ, भोक मेट्छौं, पाचन प्रकृया, 
दिसापिसाबका रुपमा शरीर बाहिर फ्याक्छौं । तर हामी दिसा, पिसाब सबैका अगाडि
 खुलमखल्ला गर्न सक्छौं र ? पक्कै पनि सक्दैनौं ।
 चेतनशील मानिसले बच्चा
 र अशक्त अवस्थामा बाहेक जथाभावी फोहोर गर्न सक्तैन । दिसापिसाबका लागि 
उसले ट्वाईलेटको खोजी गर्छ र मलत्यागपछि फ्लस् गर्छ । दिसापिसाबलाई जताततै 
फ्यात्त फ्याँक्न हुँदैन भन्ने ज्ञान उसमा छ । ठिक त्यस्तै हो कन्डम पनि, 
प्रयोग गरीसकेपछि सही टुङ्गामा त्यसलाई विसर्जन गर्ने ज्ञान हुनपर्छ ।
 
 
यसकारण आशावादी छु आमायसैले आमा, आज
 म यो पत्रका माध्यमबाट तपाईंहरुले सञ्चालन गर्ने हरेक स्वास्थ्य कार्यक्रम
 र विद्यालयमा यो विषयलाई उठान गरिदिनुहुन र सचेतना भरिदिनुहुन विनम्र 
अनुरोध गर्दछु । सभ्य र अनुशासित समाज सृजनाका लागि तपाईंलगायत सम्पूर्ण 
वुद्धिजीवीवर्ग, शिक्षक, विद्यार्थी,नागरिक, कर्मचारीलगायत राजनीतिकर्मी 
सबैजनाले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु नितान्त आवश्यक छ । 
रेडियो, टी.भी., पत्रपत्रिका, सिनेमाहल जस्ता सञ्चारका जल्दाबल्दा माध्यमले
 पनि यसविषयको उठान गर्दै कहिले, कहाँ, किन र कसरी प्रयोग गर्ने र 
प्रयोगपछि के, कहाँ, कसरी विसर्जन गर्नेबारे ज्ञान दिनु ढिला भईसकेकाले 
उचित व्यवस्थापनका लागि पहल गर्नेछन् भन्नेबारे म आशावादी छु ।
 पत्रमा 
कति लेखुँ, अन्तमा आमादाजु, भाउजु, दिदी, भिनाजु सबैलाई मेरो नमस्कार अनि 
सम्झना सुनाईदिनुहुनेछ । म पनि एमडी पूरा गरेपश्चात् नेपाल फर्किएपछि 
तपाईंहरुले सञ्चालन गर्ने हरेक जनचेतनामूलक कार्यक्रमहरुमा सक्रिय भूमिका 
निर्वाह गर्नेछु । स्वास्थ्यकर्मी भएका नाताले कन्डमको प्रयोग र 
व्यवस्थापनबारे स्पष्ट पारिदिनेछु । हवस् त आमा, यो पत्र यही टुङ्गाउन 
चाहन्छु ।
 आत्मीय छोरी
 डा. जया सत्याल (डा सत्याल चीनमा अध्ययनरत हुँदा जनचेतनाका लागि यो सार्वजनिक पत्र लेखेकी थिइन् । ) - स्वास्थ्य खबर
 |